पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा चिनी मिल –इन्दिरा सुगर एण्ड एग्रो इन्डष्ट्रिज प्रा.ली) ले किसानको उखु खरिदबापतको रकम अझै भुक्तानी गरेको छैन् । ६ करोड रकम विगत तीन वर्ष बढिको भुक्तानी गर्न बाँकी रहेको छ । उखु क्रसिङको सिजन सकिन लाग्दा समेत इन्दिराले किसानको वर्षौ देखिको बाँकी भुक्तानी गरेको छैन् भने चालु सिजनमा उद्योग समेत संञ्चालनमा आएन । जिल्लामा अन्य चिनी उद्योगले धमाधम उखु क्रसिङ गर्दा इन्दिराका सञ्चालक भने सम्पर्कविहीन छन् ।
उद्योग सञ्चालक भारतमा बस्दै आएको बताइएको छ । उद्योगमा केही कच्चा पर्दाथ र बिक्री योग्य सामाग्री रहेकाले ती सामाग्री बेचेर भएपनि किसानको पैसा असुलउपर गर्न प्रयासरत रहेको उखु उत्पादक महासङ्घका प्रवक्ता तथा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताएपनि त्यो कार्य पनि सम्भव भएको छैन् । उद्योगमा अहिले बंैकका सुरक्षागार्ड मात्रै रहेको बताइएको छ । “हामीले किसानको पैसा भुक्तानी गर्नुपर्छ भनेर पहल गरेको हो तर अब संघिय सरकारले नै पहलकदमी लिनुपर्छ यादवले भन्नुभयो, उद्योगका कोही पनि जिम्मेवार व्यक्ति सम्पर्कमा छैनन् ।”
नवलपरासी क्षेत्र नम्बर एकका प्रतिनिधि सभा सदस्य बिक्रम खनालले उखुको बक्यौता रकम भुक्तानीको वातावरण बनाउन सरकार सँग माग गर्नुभएको छ । उद्योगमा भुक्तानी माग्न जादा सँधै भोलि भन्ने वातावरणको अन्त्य गर्न सरकारलाई सदनबाट पनि ध्यानाकर्षण गराएको छु, खनालले भन्नुभयो ।
उखु खेती गर्दे आएका किसानहरूले लामो समय सम्म भुक्तानी नपाउँदा समेत सरकारले चासो नदिएको गुनासो गरेका छन् । जिल्लाका तीन वटा चिनी उद्योग मध्ये लुम्बिनी सुगर मिल सुनवल र बागमती खाडसारी चिनी उद्योग सुस्ता संञ्चालनमा छन् ।











