सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ मा उखुको उत्पादन प्रोत्साहन बापत किसानले पाउनुपर्ने अनुदान रकम निकासा गरेको छ । चालु सिजनको अनुदान रकम अर्को आर्थिक वर्षमा मात्र निकासा हुँदै आएकोमा यस वर्ष सरकारले उखु बिक्री भएको वर्षमै अनुदान रकम निकासा गरेको हो । हरेक वर्ष दशैँको पूर्वसन्ध्यामा अनुदान रकम निकासा हुँदै आएको थियो । पश्चिम नवलपरासीका किसानहरूले पाउनुपर्ने प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान बापतको रकमको अख्तियारी बिहीवार मात्र प्राप्त भएको कोष तथा लेखा नियन्त्रण कार्यालय परासीका प्रमुख कोष नियन्त्रक कमल सापकोटाले जानकारी दिनुभयो । नवलपरासीमा यस वर्ष दुई वटा चिनी मिल मात्र संञ्चालनमा थिए ।
बागमती खाडसारी चिनी मिल सुस्ताका ३ हजार ६९५ र लुम्बिनी चिनी उद्योग सुनवलमा उखु बिक्री गरेका २ हजार १६८ किसानले पाउनुपर्ने १२ करोड ९७ लाख ४६ हजार रकम प्राप्त भएको प्रमुख कोष नियन्त्रक सापकोटाले बताउनुभयो । आर्थिक वर्षको अन्त्यमा रकम निकासा भएकाले किसानहरूलाई वितरण गर्न समय अभाव देखिएको छ । चिनी मिलमा विवरण बुझाएर रुजु गरेर कोष तथा लेखा नियन्त्रण कार्यालयमा उद्योगले विवरण दिएपछि कार्यालयले प्रत्येक फाइल जाँच गरेर मात्र किसानको खातामा पैसा पठाउनुपर्ने भएकाले छिटो भन्दा छिटो किसानलाई विवरण बुझाउन आह्वान गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले तत्कालै किसानहरूलाई विवरण बुझाउन भनिएको र मिलहरूलाई पनि निर्देशन दिइसकिएको बताउनुभयो । उखु उत्पादक महासङ्घका प्रवक्ता तथा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले सरकारले निकासा गरेको रकम समयमै किसानले पाउनुपर्ने बताउँदै गाउँपालिकाले किसानहरुलाई समयमै विवरण बुझाउन सूचित गरेको जानकारी दिनुभयो ।











