पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने अभियान अन्तर्गत वडा तहमा अभियान संञ्चालन भइरहेको छ । बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्न पहिले प्रत्येक वडालाई बालमैत्री बनाउने योजनाका साथ काम भइरहेको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाका लागी आवश्यक ५१ वटा सूचक र मापदण्ड पुरा गरेर चार वटा वडा लाई बुधवार घोषणा गर्ने तयारी भइरहेको छ । बुधवार बिहान ११ बजे चारवटै वडाको संयुक्त घोषणा समारोह राखिएको छ । जिल्लास्तर बाट अनुगमन समेत गरेर बालबालिका सहित सरोकारवालाहरू सबैको सहभागितामा वडा नम्बर १,६,७ र १४ लाई घोषणा र दिगोपनाको रणनीतिक योजना कार्यान्वयनको तयारी भइरहेको नगरपालिकाका बालमैत्री फोकल पर्सन कृष्णहरि पौडेलले बताउनुभयो ।
बाल बचाउ तर्फ १४, बाल संरक्षण १०, बाल विकास ६, बाल सहभागिता ६, र संस्थागत विकास तर्फ १५ वटा सूचक पुरा गरेपछि बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न पाइने प्रावधान रहेको छ । सबै सूचकहरू पुरा गरेर, केहि सूचकमा शतप्रतिशत नतिजा हासिल गर्दे घोषणा कार्यक्रम गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बताउनुभयो ।
कुल १६ वटा रहेको बर्दघाट नगरपालिकामा तीन वटा वडा यसअघिनै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेको छ । आगामी आर्थिक वर्ष भित्रै पुरै नगरलाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने गरि नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेर काम भइरहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । नवलपरासीका दुई वटा नगरपालिका रामग्राम र सुनवल यसअघिनै बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भइसकेका छन् ।











