जिल्ला आर्थिक गणना कार्यालय पश्चिम नवलपरासीले ८८ प्रतिशत आर्थिक गणना सम्पन्न गरेको छ । बैशाख बाट सुरु भएको गणना जिल्लाका सातै स्थानीय तहमा तोकिएको समय अगावै सम्पन्न गर्ने गरि तिव्रताका साथ भइरहेको आर्थिक गणना कार्यालय परासीका प्रमुख, आर्थिक गणना अधिकारी यज्ञमूर्ति भण्डारीले बताउनुभयो । असार सात गते सम्म सक्नुपर्ने गणना अन्तर्गत जिल्लामा कुल १८ हजार ४५७ वटा उद्योग प्रतिष्ठानको गणना हुने अनुमान गरिएकोमा हाल सम्म १६ हजार १९० उद्योग प्रतिष्ठानको गणना सकिएको छ । हाल सम्मको तथ्याङ्क अनुसार अघिल्लो पटक २०७५ सालमा भएको आर्थिक गणनामा भन्दा यसपटक ४४.५ प्रतिशतले उद्योग प्रतिष्ठानको सङ्ख्यामा वृद्धि पाइएको छ ।
अघिल्लो गणनामा ११ हजार २०८ सबैभन्दा बढि सदरमुकाम रहेको रामग्राम नगरपालिकामा उद्योग प्रतिष्ठानको सङख्यामा वृद्धि भएको छ । रामग्राममा हाल सम्म ३ हजार ५६२ उद्योग प्रतिष्ठानको गणना सकिएको छ । त्यसैगरी बजार क्षेत्रका स्थानीय तहमा उद्योग प्रतिष्ठान विगतको गणनाका तुलनामा ह्वात्तै बढेको पाइएको छ । बर्दघाटमा ३ हजार ४८३, सुनवलमा ३ हजार २१४ उद्योग प्रतिष्ठानको गणना गरिएको भण्डारीले जानकारी दिनुभयो । कुनै पनि उद्योग प्रतिष्ठान तथा फर्महरू नछुट्ने गरि गणना कार्य भइरहेको उहाँले बताउनुभयो ।
नवलपरासीमा ५२ जना गणक र ७ जना सुपरीवेक्षक गरि ५९ जना आर्थिक गणनाका लागी फिल्डमा खटिएका छन् । जिल्लामा आर्थिक गणना सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति गठन भएको छ भने पालिका तहमा स्थानीय तह समन्वय समिति र वडा स्तरमा वडा स्तरीय सहजिकरण समिति पनि गठन गरिएको छ । अर्थतन्त्र मापनका लागि आर्थिक गणना भन्ने मूल नारासहित चालु आर्थिक वर्ष भित्र सम्पन्न हुने गरि देशैभर दोस्रो पटक आर्थिक गणना भइरहेको हो । यस गणनाका दौरान आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन भइरहेको छ । जसमा दर्ता भए, नभएका ठूला साना, व्यापार/प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्याङ्क सङ्कलन भइरहेको छ । आर्थिक विवरणदेखि उद्योगहरूबाट भएको उत्पादनसम्मको विवरण यस गणनामा समावेश गरिँदैछ ।











