पश्चिम नवलपरासीको सिमावर्ती नाका हुदै तस्करी बढेको छ । केहि स्थानमा प्रहरी संगको मिलेमतो र केहि स्थानमा निगरानी फितलो हुदाँ भारत तर्फ अवैध रुपमा समान पठाउने र भित्र्याउने क्रम बढेको बताइन्छ । पछिल्लो केहि दिन यता सिमावर्ती भारतिय बजार क्षेत्रमा भारतिय सिमा सुरक्षा बल -एसएसबी) ले नेपाल बाट अवैध रुपमा पठाईएका समान धमाधम नियन्त्रणमा लिइरहेको छ । सोमबार राती पाल्हीनन्दन गाउँपालिका नजीक पर्ने भारतीय सिमावर्ती बजार बर्गदवामा एसएसबीले ९८ बोरा फर्सीको बियाँ -बिउ) बरामद गरेको छ । नेपाल बाट भारत तर्फ तस्करी गरिएको उक्त फर्सिको बिउ भारतिय सिमा सुरक्षा बलले भारत तर्फ प्रवेश गर्ने बित्तिकै पक्राउ गरेको हो ।
यसतै गत शुक्रवार प्रतापपुरको झुलनीपुर नाका क्षेत्रमा पनि एसएसबीले चाइनिज लसुन बरामद गरेको थियो । एसएसबीले बिहान तीन बजेको समयमा बिहान साईकलमा लोड गरेर भारत तर्फ लगिएको लसुन बरामद गरेको हो । दैनिक जसो भारतिय सिमा सुरक्षा बलले साना ठुला परिमाणमा नेपाल बाट पठाइएको तस्करीको समान बरामद गरिरहेको छ ।
यसै गरि भारत तर्फबाट पनि तस्करी गरेर धमाधम समान नेपाल तर्फ भित्रिरहेको छ । केहि समय ठप्प प्रायः बनेको तस्करी पछिल्लो समय मौलाउदै गएको छ । भारतबाट नेपाल भित्रने समाग्रीको निगरानी गरिरहेको बताउने शसस्त्र प्रहरी र जनपथ प्रहरीको भूमिका प्रभावकारी हुन सकेको छैन् । पश्चिम नवलपरासी हुदै गएको तस्करीको ४० लाख बराबरको समान पूर्वी नवलपरासी प्रहरीले गत आईतबार नियन्त्रणमा लिएको छ । मोईबालका कभर सहित विभिन्न समाग्री, स्मार्ट वाच, जुत्ता चप्पल बोकेको तस्करीको ट्रक प्रहरीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको रजहरबाट नियन्त्रणमा लिएको हो । पश्चिम नवलपरासीका विभिन्न स्थानमा हुने प्रहरीको चेकजाँच पार गरेर गएको उक्त ट्रकमा कसैको नजर परेन् । अहिले भारत तर्फ लसुन, फर्सि र खरभुजाको बियाँ -बिउ) लगायत विभिन्न खाद्यान्न समाग्रीको तस्करी भईरहेको छ भने भारतबाट कपडा, मोबाईल पार्टस, टायल मार्वल, हार्डवेयरका समाना, कुखुरा, खसिबोका, भैँसी लगायतको अवैध आयात भइरहेको स्रोत बताउछ ।

नवलपरासी बाट सरुवा भएर जान लाग्नुभएका प्रहरी उपरीक्षक अनुपन श्रेष्ठले जिल्लामा तस्करी नियन्त्रणमा आफ्नो कार्यकालमा महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबि गरे । झन्डै १३ महिना जिल्ला प्रहरीको नेतृत्व गरेका श्रेष्ठले अघिल्लो समयावधिको तुलनामा ८ करोड राजश्व धेरै संकलन गरेको बताउदै तस्करी नियन्त्रणमा उल्लेख्य काम गरेको दाबि गरे । तर पछिल्लो समय सिमानाकाको अवस्था भने प्रहरीको दाबि जस्तो छैन् । शसस्त्र प्रहरी बल २६ नम्बर हेडक्वाटर नवलपरासीका शसस्त्र प्रहरी उपरीक्षक गोविन्द खातीले पनि तस्करी नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको दाबि गर्दे आएपनि सिमामा पहिलो सुरक्षामा खटिने शसस्त्र प्रहरीले तस्करी बढ्दा समेत कडाई गर्न सकेको छैन् ।
डिआईजीका घुमुवा र तस्करबिच हात हालाहाल
लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट सिमा क्षेत्रमा हुने अवैध कारोबारको निगरानीका लागी भन्दै आएका अनुगमन प्रहरी -घुमुवा) र तस्कर बिच विवाद हुने क्रममा तस्करको समुह प्रहरी माथीनै जाईलागेको छ । स्रोतका अनुसार पाल्हीनन्दनको सनईमा कुखुरा तस्करी भईरहेको सूचनाको आधारमा पुगेको सादा पोशाकको प्रहरी टोलीलाई तस्करको समुहले ठुला तस्करलाई छाड्ने सानालाई समात्ने भन्दै धक्कामुक्की गरेको हो । जिल्ला प्रहरी कार्यालयले उक्त घटनाको पुष्टि गर्दे घटनामा संलग्न पाल्हीन्दनको चमनटोलाका ईमरान अली मनसुरीलाई पक्राउ गरेको जानकारी दिएको छ । ती व्यक्ति माथी अभद्र व्यवहारमा मुद्धा दर्ता गरि कारवाही प्रक्रिया अगाडी बढाइएको छ ।
पहिले खुल्ला रुपमा तस्करी हुने गरेको कुखुरा पछिल्लो समय झोलामा राखेर नेपाल भित्र्याईने गरेको छ ।
एउटा मोटरसाईकलमा आठ/दश वटा सम्म झोला हालेर नेपाली बजारमा पुर्याउने गरेको सिमा क्षेत्रका स्थानीयहरु बताउछन् । मासु बिक्रि गर्ने व्यवसायीहरुका अनुसार झोलामा मरेको कुखुरा ल्याएर सस्तोमा बेच्ने कार्य समेत पछिल्लो समय फस्टाएको छ । तर प्रहरी मात्रै हाईन् यस प्रति अन्य सरोकारवाला निकायको समेत ध्यान जान सकेको छैन् । जनताको स्वास्थ्य माथी चरम खेलवाड हुदाँ समेत नियामक निकाय मौन छन् । लुम्बिनी प्रदेशमा प्रहरी नायव महानिरीक्षक -डिआईजी) ले प्रहरी निरीक्षकको नेतृत्वमा अनुगमन प्रहरी टोली परिचालन गर्ने गरेका छन् । डिआईजी भुपेन्द्र बहादुर खत्रीको निर्देशनमा खटिने टोलीले विशेषगरि तराईका जिल्लाहरुमा अवैध कारोबारको नियमन गर्ने गरेको बताइदै आएको छ तर धेरैले डिआईजीको टोली पैसा उठाउन केन्द्रित भएको आरोप लगाउने गरेका छन् ।
सिमा क्षेत्रमा महिला बालबालिका समेत प्रयोग गरेर समान भित्र्याउने र बाहिर पठाउने काम अवैध रुपमा हुदै आएको छ ।











