पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ स्थित नित्यानन्द रत्नकुमारी माध्यमिक विद्यालय (निरकु मावि) मा गणित विषयको रिक्त शिक्षक पदपूर्तिका लागि सुरु गरिएको सरुवा सहमतिको प्रक्रिया राजनीतिक हस्तक्षेपका कारण विवादमा परेको छ। आवेदन परिसकेको अवस्थामा विद्यालय व्यवस्थापन समितिले प्रक्रिया नै रोक्ने प्रयास गरेपछि शिक्षा क्षेत्रमा व्यापक चासो र आलोचना बढेको छ। विद्यालय व्यवस्थापन समितिले २०८३ वैशाख १६ गते गणित शिक्षक सरुवा सहमतिका लागि बर्दघाट नगरपालिकाको शिक्षा शाखामा पत्राचार गरेको थियो। सोही आधारमा प्रक्रिया अघि बढ्दै जाँदा विभिन्न शिक्षकहरूले आवेदनसमेत दिएका थिए। तर आवेदन दर्ता भइसकेपछि व्यवस्थापन समितिले भ्याकेन्सी खारेज गर्ने निर्णय गरेपछि प्रक्रिया विवादित बनेको हो।
आवेदन दिएका शिक्षकहरूले आफूअनुकूल उम्मेदवार नपरेपछि प्रक्रिया नै रोक्ने प्रयास गरिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार सरुवा सम्बन्धी कार्यविधिले आवेदन परिसकेपछि विज्ञापन रद्द गर्न नदिए पनि विद्यालय व्यवस्थापन समिति, वडा नं. १२ का अध्यक्ष उमाशंकर चौधरी तथा केही स्थानीय नेतृत्व र जनप्रतिनिधिकै दबाबमा प्रक्रिया अवरुद्ध पारिएको हो। यस विषयमा प्रतिक्रिया दिँदै शिक्षा विकास तथा समन्वय इकाई, परासीका प्रमुख महेन्द्र सुवेदीले आवेदन परिसकेको अवस्थामा प्रक्रिया रद्द गर्न नमिल्ने स्पष्ट पारे। उनका अनुसार २२ गतेअघिका आवेदनहरू पुरानै कार्यविधिअनुसार अघि बढाउनुपर्ने व्यवस्था रहेको छ र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट समेत सोहीअनुसार निर्देशन जारी भएको छ। बर्दघाट नगरपालिकाका शिक्षा शाखा प्रमुख डिल्लिराम ढुङ्गानाले पनि उजुरी परेपछि विद्यालयसँग स्पष्टीकरण मागिएको बताए।
उनले शिक्षक नियुक्तिको विषयमा विधि र कानुनभ
न्दा बाहिर जान नसकिने उल्लेख गर्दै विद्यालयले अझै ठोस निर्णय नगरेको जानकारी दिए। प्रारम्भमा स्थानीय नेतृत्व र व्यवस्थापन समितिकै सहमतिमा प्रक्रिया सुरु गरिएको भए पनि आफूहरूले चाहेको शिक्षक प्राथमिकतामा नपरेपछि अहिले बाहिरी जिल्लाबाट शिक्षक ल्याउने तयारी भइरहेको छ। गुल्मीमा कार्यरत एक शिक्षकलाई सरुवा सहमति दिलाएर सिधै नियुक्त गर्ने योजना बनाइएको थियो ।देशमा सुशासनको बहस चलिरहदा बिद्यार्थिको भविष्य जोडिएको शैक्षिक सस्थानै राजनीतिक हस्तक्षेप बाट मुख हुन सकेका छैनन ।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले शिक्षक सरुवा प्रक्रिया कानुनी व्यवस्थाअनुसार अघि बढाउन निर्देशन दिइएको बताए। उनले विधि विपरीत निर्णय गरिए भविष्यमा कानुनी जटिलता उत्पन्न हुन सक्ने चेतावनी दिँदै सरुवा सहमति लिएर आएका शिक्षकलाई हाजिर हुन नदिने अवस्था सिर्जना भए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत उठाए। एक महिनाभन्दा बढी समय बितिसक्दा पनि गणित शिक्षक नियुक्त हुन नसक्दा विद्यालयको पठनपाठन प्रभावित भएको छ। स्थानीय अभिभावक र सरोकारवालाहरूले राजनीतिक स्वार्थका कारण विद्यार्थीको भविष्यसँग खेलवाड भइरहेको भन्दै तत्काल कानुनी प्रक्रिया अनुसार शिक्षक व्यवस्थापन गर्न माग गरेका छन्।स्थानीयका अनुसार बर्दघाट क्षेत्रमा शिक्षक सरुवा र नियुक्ति प्रक्रिया विगतदेखि नै विवादित रहँदै आएको छ। निरकु माविको पछिल्लो घटनाले शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप अझै प्रभावशाली रहेको तथ्य पुनः उजागर गरेको उनीहरूको भनाइ छ। सम्बन्धित निकायले समयमै हस्तक्षेप नगरे शिक्षा प्रशासनप्रतिको जनविश्वास थप कमजोर हुने चिन्ता व्यक्त गरिएको छ।











