TRENDING

मन्त्रीले बोलेको असंसदीय शब्द हटाउन सभामुखको रुलिङ

१३ जेठ, काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उठाएका प्रश्नको जवाफ दिँदा प्रयोग गरेको संसदीय मर्यादाविपरीतका शब्द हटाउन सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका छन् ।

बिहीबार एमाले अध्यक्ष ओलीले नेपाल आयल निगम खारेज गरेर आधा कमिसन खाइसकेको र आधा कमिसन खान बाँकी रहेको भनी अभिव्यक्ति दिएका थिए । शुक्रबार ओलीको उक्त अभिव्यक्तिको जवाफ दिने क्रममा मन्त्री बडुले ओलीको अभिव्यक्ति निराधार र झुठो रहेको उल्लेख गर्दै ओलीले ‘स्तरहीन अभिव्यक्ति’ दिएको बताएका थिए ।

तर एमाले सांसदहरुले आफ्नो पार्टी अध्यक्षको अभिव्यक्तिलाई स्तरहीन भनेर मन्त्रीले खण्डन गरेको विरोधमा संसद बैठक नै अवरोध गरेका थिए । त्यसपछि बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक मन्त्री बडूले बोलेको ‘स्तरहीन’ शब्द हटाउन सभामुखले रुलिङ गर्ने सहमति भएको हो ।

कार्यव्यवस्था परामर्श समितिमा भएको सहमति अनुसार सभामुख सापकोटाले मन्त्रीले बोलेका ती शब्द संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 बिशेष न्यूज़ All right reserved Site By : Himal Creation