आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ सकिएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जानकारी दिनुभयो । आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने केन्द्रले जनाएको छ ।
प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र ४० दिनमै छापेर सकिएको उहाँले बताउनुभयो । केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो । यसअघि १० लाख नमूना मतपत्र छपाइ सकेर आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ भने दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र जिल्लामा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ । अब मतपत्र जिल्ला जिल्लामा पुर्याउने कार्य तिव्रताका साथ गरिने छ ।











